ऊ एक कवि!
ऊ एक कवि! मैले प्रशंसा गरें र प्रशंसा गरिरहेँ। प्रशंसा गर्नैपर्छ भन्ने थियो वा थिएन थाह भएन। तर सुरुमा आफू केही पनि होइन, केही काम पनि गर्दिनँ भन्ने उसले विस्तारै आफ्नो भाऊ बढाउँदै गयो। सायद ऊ आफू ठूलो मान्छे भइसकेको बुझ्थ्यो, वा धेरै नै उच्च भइसकेको भ्रममा पर्थ्यो। उसले आफ्नो आत्मप्रशंसा निरन्तर गर्न थाल्यो आफू गजब र खत्रा हुँ भन्दै धाराप्रवाह रूपमा आफ्नो बयान गर्न कहिल्यै छोडेन। उल्टो, उल्टो उसले हामीलाई नै फेरि औपचारिक रुपमै प्रशंसा गाउन अनुनय गर्न थाल्यो ऊ एक नयाँ कवि। होइन होइन, ऊ त एक स्थापित कवि। किनभने अरूको नजरमा उसको कविता कविता हस् या नहोस् उसको नजरमा मापदण्ड पुगेको स्तरीय कविता उसले झण्डै डेढ दर्जन लेखिसकेको छ। उसको प्रशंसा मा कविता लेख्न मन थियो तर म कवि होइन, उसैले आत्मप्रशंसा गरिराखेकै छ किन भने ऊ एक कवि हो। ऊ एक कवि!