मन परेकी केटि: भाग १

त्यतिखेर म भर्खर १८ बर्ष भएको थिएँ।  १२ कक्षाको जांच सकेर घर (बैतडी) फर्केको थिएँ।

संगै पढेका साथीहरु जाँच दिने बित्तिकै काठमाडौँ गैसकेकाले मलाई नि काठमाडौँ जाने रहर पलाउन थालेको थियो। साथीहरु कोहि डाक्टर पढ्ने भन्थे कोहि इन्जिनियर, कोहि सी.ए त कोहि केहि। संगत गरेका साथीहरु ले ठुलाठुला सपनाहरु बोकेको प्रत्यक्ष्य देखे पनि मैले अहिलेसम्म न कुनै सपना देखेको थिएँ न बोकेको नै। भविष्यको प्लानिङ्ग को नाम मा १० क्लास को SLC सेन्ट अप परीक्षाको अंग्रेजी को प्राक्टिकल मा तिमि के बन्न चाहन्छौ भन्ने प्रश्नमा मेरो मनबाट स्वस्फुर्त रुपमा डाक्टर बन्छु भन्ने वाक्य निस्केको मात्र याद थियो। तर ११ - १२ मा पनि त्यस्तै सपना बोक्नेहरुको संगत ले मभित्र त्यो सपना बलियो बन्दै गएको मैले महशुश गर्दै थिएँ।

तर पनि साथीहरु काठमाडौँ गएर प्रवेश परीक्षाको लागि तयारी कक्षा लिन थाल्दासम्म म अनिर्णयको बन्दि थिएँ। काठमाडौँ जाने रहर मनमा भए पनि त्यहाँ कोसँग जाने कोसंग बस्ने केहि ठेगान थिएन। कहिले नदेखेको ठाउँमा मलाई एक्लै जान अनुमति दिने खालको परिवार पनि थिएन, जिद्दी गरेर भए नि जाने हिम्मत ममा थिएन।  हरेक दिनजसो कुनै न कुनै साथीको काठमाडौँ बाट फोन आउथ्यो।  मैले आफ्नो कुरा विस्तार बिस्तारै घरमा राख्न सुरु गरिसकेको थिएँ।  सपना देख्ने कुरामा सबैको समर्थन थियो तर कसरि पुरा गर्ने भन्ने योजना कसैसँग थिएन।  जे होस् मलाई काठमाडौँ पठाउने लगभग लगभग निश्चित भैसकेको थियो। तर त्यहाँ गएर नागरिकता आवश्यक पर्ने हुँदा मलाई नागरिकता बनाइ सकेपछि मात्र जाने कुरा भयो।

नागरिकता बनाउनलाइ काका  र म जिल्ला सदरमुकाम जाने भनेर हिड्यौ। गाडीसम्म पुग्नलाई घरबाट लगभग पुरै २ घण्टा जति हिड्नुपर्थ्यो। अनि ४ घण्टा जति चढेर  गाडी चेन्ज गरेपछि १ घण्टा पछि मात्र सदरमुकाम पुग्न सकिन्थ्यो।

साउन महिनाको गर्मि, नदीकिनार को आर्द्रता युक्त तातो हावाले हाम्रो शरीरलाई मोमो जस्तै पकाइरहेको थियो। गोठाला पानी  (बैतडी सदरमुकाम) जाने भनेर हामि गोकुलेश्वर बाट बस चढ्यौं। बस भित्र यात्रुहरु सामान कोचेजस्तो गरेर कोचिएका थिए।  सिट भन्ने कुरा कतै पनि खाली थिएन। पुरानो थोत्रो बसको खिया लागेको स्टिल ले धान्न नसक्ने गरेर लोड भरिएको थियो।  कसैले कसैलाई राम्रोसंग देख्ने वा कुरा गर्ने अवस्था नै थिएन। काकाले जसो तसो केविन मा अलिकति ठाउँ खोजेर त्यहाँ अडेश लाग्नुभो, म चाही अलि पछाडी सिट पाइएला कि भन्दै उभिएरै जाँदै थिएँ।  उभिनेमा  म मात्र एक्लो भने थिएँन।  यात्रु र तिनका सामानले गाडी खचाखच भरिएको थियो, एउटा यात्रु ले नजिकैको अर्को यात्रुको अनुहार देख्ने अवस्था थिएन, कुरा गर्ने अवस्था थिएन। काका कै शब्दमा भन्नु  पर्दा गाडीभित्र सास फेर्ने ठाउँ सम्म नि थिएन।

अलिकति पर पुगेपछि गाडीले पहिरोको डरले सडक छोडेर नदि किनारको बगर भएर जानु पर्थ्यो। उबड्खाबड बगरमा गाडी धेरै नै हल्लियो, यात्रुहरु एकछिन अस्थिर भए। तर खुट्टा अस्थिर भए नि हातको भरमा म अझै नियन्त्रण भित्रै थिएँ। अकस्मात मेरो शरीरलाई एउटा अनियन्त्रित शरीर ले धक्का दिन पुग्यो। मैले मेरो नियन्त्रण गुमाएँ तर शरीरको होइन, मनको।  मेरो जिउले उसको भार थामिरहेको थियो तर मनले त आफ्नै  नियन्त्रण गुमाउला जस्तो भैसकेको थियो ।

क्रमसः (बाँकी अर्को भागमा)

Comments

Popular posts from this blog

This is why you shouldn't believe in horoscopes